बुवाको श्राद्धको दिन आमाको शव लिएर छोराहरु सडकमा, ठक्कर दिएर भाग्ने गाडी पत्ता लगाउन माग
सिमराः छोरीलाई बुवाको श्राद्धमा आउन निम्तो दिएर घर फर्कदै गरेकी ६५ वर्षीया रत्नकुमारी सुवेदीको गाडीको ठक्करबाट मृत्यु भएको घटनाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनी क्षेत्र बुधवार तनावपूर्ण बन्यो ।
ठक्कर दिएर फरार भएको गाडीको अवस्था पत्ता लगाउन र सडक क्षेत्रलाई उज्यालो बनाउन माग गर्दै परिवार र स्थानीयले राजमार्गमा शव तेर्साएर प्रदर्शन गरेपछि बजनी क्षेत्र तनावपूर्ण बनेको हो । बुवाको श्राद्ध गर्ने दिने आमाको शव लिएर सडकमा उत्रिएका छोराहरुलाई स्थानीयले साथ दिएका थिए ।
सुवेदीलाई मंगलबार साँझ नम्बर नखुलेको गाडीले ठक्कर दिएर फरार भएको थियो । ठक्करबाट गम्भीर घाईते सुवेदीको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालले बुधवार बिहान सुवेदीलाई मृत घोषित गरेको थियो ।
घटनाबाट आक्रोशित स्थानीयको प्रदर्शनका कारण पथलैया–वीरगन्ज व्यापारिक मार्ग करिब तीन घण्टा अवरुद्ध रहयो । स्थानीयले राजमार्ग भएर गुड्ने कुनै पनि सवारीसाधनलाई चल्न दिएनन् । जसका कारण सयौं सवारी साधन राजमार्गमा रोकिन पुगेका थिए ।
घटना भएको २० घण्टा वितिसक्दा पनि ठक्कर दिने गाडीको अवस्था पत्ता लगाउन नसकेको भन्दै स्थानीयले जनप्रतिनिधि र प्रहरीप्रशासनमाथि आक्रोश पोखेका थिए । स्थानीयको आक्रोश चुलिन नदिन संयमित बनेको प्रहरीले गाडी पत्ता लगाउने र पीडितलाई राहत उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि सडक सूचारु भएको हो ।
स्थानीय आन्दोलित बनेपछि घटनास्थलमा पुगेका जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले पनि गाडी पत्ता लगाउन र पीडितलाई राहत उपलब्ध गराउन प्रहरीप्रशासनसंग समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए । स्थानीयले सडक क्षेत्र उज्यालो बनाउन, सिसी क्यामरा जडान गर्न समेत माग गरेका थिए ।
नगर प्रमुखकै घर रहेको वडामा घटना भएको र घटना भएको लामो समयसम्म नआएको भन्दै मृतकका परिवार र स्थानीयले नगर प्रमुखमाथि आक्रोश पोखेका थिए । नगर प्रमुखले भने आफूले आउन नपाएपनि प्रहरीप्रशासनसंग समन्वय गरिरहेको बताएका थिए ।
पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुरसिमरामा पर्ने सडक बत्ती संचालन नहुँदा, गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले चासो नदेखाउँदा दिनहुँजसो दुर्घटना भईरहेका छन् । उक्त क्षेत्रमा बुधवार बिहान मात्रै जैतापुरका मोटरसाइकल यात्रुलाई ठक्कर दिएको थियो । दिनहुँजसो दुर्घटना भईरहेपनि सम्बन्धित निकायले दुर्घटना न्यूनिकरणमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।