मधेशका तीन जिल्ला उच्च जोखिममा, हिमाली तथा पहाडी जिल्लामा रात्रिकालीन बस नचालाउन आग्रह


eShilalekh

११ आश्विन २०८१, शुक्रबार १२:३७

सिमराः राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै असोज ११ र १२ गते हिमाली तथा पहाडी जिल्लामा रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस नचालाउन आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले देशभर भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।

विभागले मधेस प्रदेशको सिरहा, सप्तरी र पर्सा, कोसी प्रदेशको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ ।

यस्तै, गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्