राम्रो फूटबलर बन्न चाहन्थे बिकल, पहिरोले लग्यो ज्यान


eShilalekh

१२ आश्विन २०८१, शनिबार २०:००

सिमराः मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी विद्यार्थी मध्ये एक हुन् बारा निजगढ–८ का बिकल रेग्मी । एकेडेमीबाट शनिबार बिहान सुरक्षित स्थानतर्फ लैजाने क्रममा बिकलसहित ६ जनालाई पहिरोले बगाएको थियो ।

पहिरोले बगाएका ६ जनाको शव फेला परेको छ । उनिहरुको शव काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा निजगढका बिकलसहित सर्लाहीका आदित्य बलपाकी, मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बानियाँ र काठमाडौंका रियान्स आचार्य रहेका छन् ।

एन्फा प्रवक्ता सुरेश शाहले सिस्नेरी एकेडेमीमा रहेका ६ खेलाडी पहिरोमा परेको पुष्टि गरेका छन् । इन्द्रसरोबर गाउँपालिका ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडीलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनिहरुलाई पहिरोले बगाएको थियो ।

सुरक्षित स्थानमा लगिएका ३० प्रशिक्षार्थीलाई भने काठमाडौं लगिएको छ । उद्धार गरिएका ३४ मध्ये ३० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

यु–१३ उमेर समूहमा बिकलसहित निजगढका पाँच प्रशिक्षार्थीले सिस्नेरीस्थित एन्फा एकेडेमीमा फूटबल प्रशिक्षण गरिरहेका थिए । अन्य चार जना भने सुरक्षित छन् । उनिहरु गत जेठदेखि सिस्नेरीमा थिए ।

निजगढ नगरपालिका ८ बकैया टोलका जयन्त रेग्मीका छोरा बिकल फूटबल खेल्न औधी रुचाउथे । फूटबलमा भएको रुचीकै कारण उनले निजगढबाट एकेडेमीसम्मको यात्रा तय गरेका थिए । जिल्ला र प्रदेशको छनौट पार गर्दै एकेडेमीमा पुग्न सफल बिकल फूटबलमा आफ्नो भविष्य बनाउन चाहन्थे ।

प्रतिक्रिया दिनुहोस्