मधेस प्रदेश सरकारद्वारा आपतकालीन रकम विनियोजन
सिमराः बाढीले पुर्याएको क्षतिबाट राहत तथा पुर्नस्थापनाकालागी मधेश प्रदेश सरकारले आठवटै जिल्लालाई एक/एक करोड आपतकालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
मधेशमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो ।
आइतबार मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए । मधेशको कुन वडामा कति क्षति भएको र वडास्तरीय क्षतिका विवरण ल्याउन समेत निर्देशन दिइएको मुख्यमन्त्री सिंहले जनाएका छन् ।
उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।