निजगढका बिकलको अन्त्येष्टि, नगरपालिकाले ‘बिकल स्मृति जुनियर कप’ आयोजना गर्ने
सिमराः मकवानपुरको सिस्नेरीमा खसेको पहिरोमा परी ज्यान गुमाएका बारा निजगढ–८ का बिकल रेग्मीको सोमबार अन्त्येष्टि गरिएको छ । बिकलको निजगढस्थित बकैया खोलामा अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टि अघि निजगढमा शवयात्रा र श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । नगरका उदयमान खेलाडीको दुःखद् निधन भएको भन्दै निजगढ नगरपालिकाले शवयात्रा र श्रद्धान्जली सभाको आयोजना गरेको थियो ।
सभामा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, पूर्व कृषी मन्त्री ज्वालाकुमारी साह, संविधान सभाका सदस्य बलबीर चौधरी, मधेस प्रदेशसभा सदस्य मीना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, पूर्व नगर प्रमुख सुरेश खनाल, उपप्रमुख सोममाया थिङ, पूर्व उपप्रमुख लिला लामिछाने खनालसहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय, खेलाडी, खेलप्रेमीलगायत श्रद्धान्जली व्यक्त गरेका थिए ।
श्रद्धान्जली सभामा बोल्दै नगर प्रमुख पुरीले बिकलको सम्झनामा नगरपालिकाले प्रत्येक वर्ष बिकल स्मृति जुनियर फूटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । उनले सिस्नेरीमा भएको घटनाको सम्बन्धमा एन्फालगायत सरोकारवाला निकायसंग छलफल समेत गर्ने जनाएका छन् ।
निजगढका जयन्त रेग्मी र कमला रेग्मीका कान्छा छोरा विकल गत जेठमा एन्फाको सिस्नेरीस्थित आवासीय एकेडेमी गएका थिए । अविरल वर्षापछि शनिबार बिहान खसेको पहिरोमा परी बिकलसंगै ६ जना प्रशिक्षार्थी खेलाडीको पहिरोले पुरिएर मृत्यु भएको थियो ।