सरकारद्वारा तीन दिन राष्ट्रिय शोकको घोषणा, मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय
सिमराः सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।
सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकले तीन दिन राष्ट्रिय शोकको घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।
प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट फर्किए लगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले एक अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।
त्यस्तै मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णयसमेत सरकारले गरेको छ ।