सिर्सिया नदीमा हाम फालेकी किशोरीको शव तीन दिनपछि फेला
सिमराः वीरगञ्ज महानगरपालिको रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव भेटिएको छ ।
रानीघाट स्थित सिर्सिया पुलबाट हाम फालेकी १७ बर्षीय किशोरीको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् । शव भेटिएपछि मृतकका आमा र भाइले पहिचान गरेका छन् । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको उनले जानकारी दिए ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १७ बर्षीया छोरी राधिका कुमारी दास आइतबार नदिमा हाम फालेकी थिइन् । तीन दिनपछि मंगलबार (आज) बिहान रानीघाट पुलबाट १५० मिटर को दुरीमा ती किशोरीको शव फेला परेको भारतीले जानकारी दिए ।
किशोरीले नदिमा हाम फाल्नुको कारण अझै पत्ता नलागेको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । उनका अनुसार थप अनुसन्धान भइरहेको छ । परिवारका सदस्यहरूसँग यस विषयमा बुझ्ने प्रयास भइरहेको छ । अनुसन्धानको क्रममा प्रहरीले किशोरीको परिवार, साथीभाइ र परिचितहरूसँग कुरा गरेर घटना सम्बन्धी थप जानकारी सङ्कलन गरिरहेको छ ।