पथलैयामा बसले मोटरसाइकललाई ठक्कर दिँदा पूर्व जनप्रतिनिधिको मृत्यु
सिमराः बाराको पथलैयामा शुक्रबार राती बसले मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का पूर्व वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा १६ टांगियाबस्तीका अम्बर बहादुर घिसिङ रहेका छन् ।
घिसिङ २०७४ सालको स्थानीय तह निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको नगर कमिटी सदस्य समेत हुन् ।
पथलैयाबाट टांगियाबस्तीतर्फ जाने क्रममा घिसिङ सवार बा५९प ४२१० नम्बरको मोटरसाइकललाई दुई नम्बर पुलमा बसले ठक्कर दिएको थियो । घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा टांगियाबस्तीकै मनोहर सुस्लिङ मगर घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिए ।
वडाध्यक्ष खरेलले दुर्घटनामा टांगियाबस्तीले ठूलो क्षति व्यहोर्नुपरेको बताए । घिसिङ टांगियाबस्तीमा अगुवा समाजसेवीका रुपमा समेत सक्रिय थिए ।
घिसिङको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।