सहकारी ठगी गर्ने व्यक्तिले उन्मुक्ति पाउनु हुँदैनः मन्त्री क्षेत्री
सिमराः मधेश प्रदेशका भूमी, व्यवस्था तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले जनताले दुःख गरेर बचत गरेको रकम अपचलन गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री सिंहले राज्यको जुनसुकै तहमा रहेका व्यक्ति भएपनि सहकारी ठगीमा संलग्न रहेको प्रमाणित भए कारवाही गर्नुपर्ने बताए ।
‘जनताले दुःख गरेर जम्मा गरेको अपचलन ठगी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । त्यस्ता व्यक्तिलाई छोड्नु हुँदैन’ मन्त्री सिंहले भने ‘ति मान्छे मन्त्री भएका व्यक्ति हुन् वा राजनीतिक दलको माथिल्लो ओहदाका व्यक्ति हुन् । कानुनी दायरामा ल्याउनुपर्छ ।’
सहकारी ठगीका घटनाले यस क्षेत्रमाथि जनविश्वास घट्ने खतरा रहेको भन्दै मन्त्री सिंहले छुट पाउने गरी कसैको देवत्वकरण नगर्न समेत आग्रह गरे । मन्त्री सिंहले सहकारी संस्थालाई व्यवस्थित ढंगले संचालन गर्न आवश्यक रहेको पनि बताए ।
प्रदेश भित्रका सहकारी संस्थालाई नियमन, व्यवस्थित गर्नका लागि प्रदेशमा ऐन निर्माण भएको बताउँदै मन्त्री सिंहले कर्मचारी व्यवस्थापन गरेर अन्य काम अघि बढाईने बताए । उनले संघीय सरकारले उपलब्ध गराएको आठ सय सहकारी संख्यामध्ये दुई सय ५० मात्रै सम्पर्कमा आएको बताउँदै अब सम्पर्कमा नआउने सहकारीलाई खारेज गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले सहकारी क्षेत्रको उचित व्यवस्थापनका लागि मन्त्री सिंह र जीतपुरसिमरा नगर प्रमुख राजन पौडेल आग्रह गरे । यसैगरी उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल सहकारी क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।
संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संस्थाका पदाधिकारी, शेयर सदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव इद्रिश मियाले गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख स्वर्गीय डा. कृष्ण पौडेलप्रति सम्मान व्यक्त गरिएको थियो । सहकारी अभियानलाई स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै संस्थाले डा. पौडेलप्रति सम्मान व्यक्त गरेको हो । उक्त सम्मानपत्र डा. पौडेलकी पत्नी शर्मीला पौडेललाई प्रदान गरिएको थियो ।