नेपाल पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय


eShilalekh

२० आश्विन २०८१, आईतवार १४:०८

सिमराः नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा मध्यपुरथिमिको बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।

भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए । भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए ।

उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ । नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्