चाडपर्वलाई लक्षित गर्दै निजगढ नगरपालिकामा सुरक्षा केन्द्रीत बैठक सम्पन्न


eShilalekh

२० आश्विन २०८१, आईतवार २२:२४

सिमराः चाडपर्वलाई लक्षित गर्दै निजगढ नगरपालिकाले शनिबार जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थितिमा सुरक्षा केन्द्रीत बैठक आयोजना गरेको छ । चाडपर्वलाई सुरक्षित एवम् मर्यादित ढंगले सम्पन्न गर्ने उदेश्यका साथ नगरपालिकाले सरोकारवाला निकायको बैठक राखेको हो ।

नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा सम्पन्न बैठकमा नगरपालिकाभित्रको शान्ति सुरक्षा, चाडपर्वका समयमा मदिरा सेवन गरी हुन सक्ने झगडा, सवारी तथा सडक दुर्घटना, चोरी र जुवा नियन्त्रण, दैनिक उपभोग्य वस्तुमा हुने ठगी नियन्त्रणका विषयमा छलफल भएको थियो । नगर प्रमुखले पुरीले नगर क्षेत्र भित्र हुनसक्ने यस्ता सम्भावित घटनालाई नियन्त्रण गर्न सचेत भएर लाग्न समेत सरोकारवाला निकायलाई निर्देशन समेत दिएका थिए ।

नगरबासीले शान्त र सुरक्षित भएर चाडपर्व मनाउने वातावरण सिर्जना गर्ने दायित्व सबैको रहेको बताउँदै नगर प्रमुख पुरीले आफ्नो तर्फबाट जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह गरेका थिए । नगरभित्रका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिले पनि चाडपर्वलाई सभ्य र सुरक्षित बनाउने विषयमा राय व्यक्त गरेका थिए ।

बैठकमा वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघलगायत सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्