नेपाल–भारत सीमा नाकामा एसएसबीमाथि हातपात गर्ने दुई पक्राउ


eShilalekh

३० आश्विन २०८१, बुधबार १६:३४

सिमराः भारतीय सिमा सुरक्षा बल (एसएसबी) माथि हातपात गर्ने कार्यमा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज–रक्सौल सीमामा मंगलबार तस्कर र एसएसबी बिच झडप हुदाँ एसएसबीका जवानले दुई राउण्ड गोली चलाएका थिए ।

नेपाल–भारत सीमा नाकाको दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट कबाड लिएर जाने क्रममा तस्करहरुलाई एसएसबीले रोक्न खोज्दा झडप भएको थियो । एसएसबीसंग झडप भएपछि नेपालतर्फ भाग्दै गरेका कबाड तस्करहरुलाई एसएसबीका जवानले गोली चलाएपनि मानवीय क्षति भएको छैन । एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमीमा भेटिएको थियो ।

एसएसबीका कमाण्डेट विकास कुमारका अनुसार तस्करहरुले एसएसबीका जवानद्वय नविन कुमार र श्री पालमाथि आक्रमण गरी नेपालतर्फको दशगजा क्षेत्रमा लैजान खोजेका थिए । तस्करहरुले हतियार खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नविन कुमारले दुई राउण्ड गोली चलाएका थिए ।

उक्त घटनामा एसएसबीमाथि आक्रमण र ढुंगामुढा गर्ने समुहमध्येका दुई जनालाई मंगलबार बेलुकी रक्सौलस्थित हरैया थानाका थानाध्यक्ष अन्जन कुमार नेतृत्वको भारतीय टोलीले पक्राउ गरेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जानकारी दिए ।

उनका अनुसार, पक्राउ पर्नेमा भारत रक्सौलको अहिरवा टोलाका जितु कुमार र खुर्शीद आलम रहेका छन् । उक्त घटनामा संलग्न अन्य व्याक्तिहरुकोपनि खोजी भइरहेको एसपी स्वर्ण प्रभातले बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मंगलबार सीमा क्षेत्रमा भएको घटनाबारे नेपाल प्रहरीले पनि आफनो तर्फबाट अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्