प्रहरी दिवसको अवसरमा बारा प्रहरीद्धारा विशेष कार्यक्रमको आयोजना, अमर प्रहरीका परिवार र संचारकर्मी सम्मानित


eShilalekh

३० आश्विन २०८१, बुधबार १७:५३

सिमराः ६९औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले विशेष कार्यक्रमको आयोजना गरेको छ । दिवसको अवसर पारेर कार्यालयले कलैयामा अमर प्रहरीको सम्झनामा श्रद्धान्जली अर्पण, अमर प्रहरीका परिवार र संचारकर्मीलाई सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नेपाल प्रहरीको योगदानबारे उच्च प्रशंसा गरेका थिए । आफ्नो पेशा र पोशाकप्रती गौरव गर्न सम्पूर्ण प्रहरीलाई घिमिरेले सुझाव दिएका थिए ।

कार्यक्रममा बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले प्रहरी महानिरीक्षक बसन्त कुवँरद्वारा जारी शुभकामना सन्देश वाचन गरेका थिए । खड्काले ‘जनताको पहिलो साथी प्रहरी हो’ भन्ने भाष्य स्थापित गर्नपर्ने बताए ।

कार्यक्रममा बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले प्रहरी दिवसको विशेषताबारे जानकारी गराएका थिए । उनले नेपालमा सशस्त्र द्वन्द पश्चात कर्तव्य पालनाको सिलसिलामा सहादत प्राप्त गर्ने अमर प्रहरी, घाइते तथा अंगभंग भएका प्रहरी कर्मचारीहरुको सम्झनामा यो दिवस मनाईने गरेको बताए ।

यसैगरी प्रहरी दिवसको अवसरमा सहिद प्रहरी परिवार तथा सञ्चारकर्मीहरुलाई दोसल्ला ओढाई तथा कदर पत्रले सम्मानित गरिएको छ । सम्मानित हुनेमा संचारकर्मी साजिर मन्सुर, अजय साह र सन्दिप यादव रहेका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, नेपाली सेनाका अधिकृत, सशस्त्र प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

प्रहरी उपरीक्षक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले गरेका थिए भने स्वागत मन्तव्य प्रहरी प्रवक्ता सापकोटाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्