प्रहरी समायोजन ऐन नहुँदा समस्याः मुख्यमन्त्री सिंह
सिमराः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले प्रहरी समायोजन ऐन जारी नगर्दा प्रदेश सरकारलाई सुरक्षा व्यवस्थापनमा समस्याको सामना गर्नुपरेको बताएका छन् ।
६९औं प्रहरी दिवसको अवसरमा बुधबार मधेश प्रहरी कार्यालय जनकपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सुरक्षा व्यवस्थापनलाई सुधारको आवश्यक रहेको बताए ।
मधेस प्रदेशको जनसंख्या लगभग ६२ लाख रहेको र प्रदेशभित्रको सुरक्षामा प्रहरीको भूमिका महत्वपुर्ण बताउँदै मुख्यमन्त्री सिंहले ऐनको अभावले नीतिगत रुपमा काम गर्न कठिनाइ भएको बताए । प्रहरी समायोजन ऐन नआए पनि प्रदेश सरकार र स्थानीय निकायले प्रहरी संगठनलाई सहयोग गरिरहेको बताएका छन् ।
मुख्यमन्त्री सिंहले प्रदेशमा लागूऔषधको ओसारपसार, मानव तस्करी, राजस्व चुहावट, चोरी, डकैती र साइबर अपराधजस्ता समस्याहरूको नियन्त्रण गर्न प्रहरी संगठनलाई सक्रिय हुनुपर्ने बताए ।