महरा हत्या प्रकरणः एक जना पक्राउ
सिमराः कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–७ का १९ वर्षीय सिकिन्दर मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी बीरेन्द्रकुमार पासवानले बताएका छन् ।
गोलबजार नगरपालिका–१३ दुर्गापुरका २० वर्षीय महराको शव गत सोमबार सुखीपुर नगरपालिका–१० नजिकको गागन खोला बगरमा फेला परेको थियो । उनको शव बालुवाले पुरीएको अवस्थामा भेटिएको थियो ।
डीएसपी पासवानका अनुसार कृष्णकुमार र सिकिन्दरबीच विवाद रहेको सूचनाका आधारमा सिकिन्दरलाई पक्राउ गरिएको हो । महराको घाँटीमा धारिलो हतियारको चोट देखिएको थियो । शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने पासवानले जानकारी दिए ।