दुर्घटनामा ज्यान गुमाएका जीतपुरसिमराका स्वास्थ्यकर्मी कर्णप्रति श्रद्धान्जली व्यक्त


eShilalekh

३० आश्विन २०८१, बुधबार १९:१४

सिमराः मोटरसाइकलको ठक्करबाट ज्यान गुमाएका स्वास्थ्यकर्मी प्रविणकुमार कर्णप्रति जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रद्धान्जली व्यक्त गरेका छन् । जनस्वास्थ्य प्रवर्द्धन शाखाले बुधवार कार्यालयमा आयोजना गरेको शोकसभामा सहभागी हुँदै जनप्रतिनिधि र कर्मचारीले श्रद्धान्जली व्यक्त गरेका हुन् ।

श्रद्धान्जली सभामा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रवि भाष्कर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाराका अध्यक्ष जितन ठाकुर, जीतपुरसिमरा नगर अस्पतालका मेडिकल सुप्रिटेण्डेन्ट डा. प्रकाश साहसहित नगर क्षेत्र भित्रको २५ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र उपमहानगरका कर्मचारीको उपस्थिती रहेको थियो ।

शोकसभालाई नगर प्रमुख पौडेल, जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख भाष्कर र ठाकुरले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनिहरुले कर्णको निधनबाट उपमहानगरपालिकालाई ठूलो क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ घर भएका ४२ वर्षीय कर्ण दशैं विदाको समयमा सर्लाही गएका बेला असोज २५ गते राती मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा मृत्यु भएको हो ।

कर्ण जीतपुरसिमरा ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख थिए । उनको पत्नीसहित एक छोरा र एक छोरी छिन् । उनकी पत्नी सिमा कर्ण पनि स्वास्थ्यकर्मी हुन् । सिमा सखुवाघाटमा कार्यरत छिन् ।

सिमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको जिल्ला कार्यसमिति सदस्य हुन् भने उनका पति कर्ण महासंघको सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्