आर्थिक अभावले जैतापुरका आठ वर्षीय बालकको उपचारमा समस्या


eShilalekh

१ कार्तिक २०८१, बिहीबार १२:४४

पुष्पराज खतिवडा

जैतापुरः आर्थिक अभावले बोन म्यारोको समस्याबाट पीडित जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ जैतापुरका एक बालकको उपचारमा समस्या भएको छ । स्थानीय लालबहादुर तामाङका आठ वर्षीय छोरा पियुशको उपचारमा आर्थिक समस्या भएको हो ।

पियुशको अहिले भारत हरियाणास्थित मारेंगो एशिया अस्पताल गुरुग्राममा उपचार भैरहेको छ । कक्षा २ मा अध्ययनरत बालक करिब चार महिनादेखि विरामी भई उपचारका लागि काठमाण्डौं हुँदै भारत लगिएको थियो ।

काठमाडौंमा समस्या पत्ता नलागेपछि उनलाई भारत लगिएको र भारतमा बोन म्यारोको समस्या देखाएको परिवारले जनाएका छन् । उनको उपचारमा दैनिक ५० हजारभन्दा बढी खर्च भईरहेको छ ।

पियुशको उपचारमा हालसम्म १८ लाख भन्दा बढी रकम खर्च गरिसकेका परिवारले थप उपचारका लागि आर्थिक समस्या भएको जनाएका छन् । चिकित्सकले पियुशको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन् । जसका लागि थप ८० लाखसम्म खर्च हुने परिवारको पियुशका मामा हर्कले जानकारी दिएका छन् ।

ऋणको जोहो गरेर अहिलेसम्म उपचार गर्दै आएको बताउँदै हर्कले थप उपचारका लागि सहयोग उठाउन बाध्य भएको बताए । बालकको उपचारका लागि हालसम्म एक लाख ५२ हजार रकम संकलन भईसकेको छ ।

पियुशका बुवा लालबहादुर नेपाल प्रहरीको सवारी चालक पदमा कार्यरत छन् । बालकको उपचारका लागि आवश्यक ठूलो रकम व्यवस्थापन गर्न तामाङ परिवारलाई कठिन देखिएको छ । जसका कारण उनका परिवारले सहयोगका लागि अपिल गरिरहेका छन् ।

पियुशका बुवा लालबहादुरले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा ९८४१९४३४३४ नम्बर मार्फत वा क्युआरबाट रकम जम्मा गरि सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्