महोत्तरीमा करेन्ट लागेर एक बालिकाको मृत्यु, दुई जना घाइते


eShilalekh

२ कार्तिक २०८१, शुक्रबार १४:४७

सिमराः महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

मृत्यु हुनेमा गौशाला–३ स्थित पचाइन टोलकी १२ वर्षीय करिनाकुमारी महतो रहेकी छिन् । उनिसँगै खेततर्फ जाँदै गरेको १४ वर्षीय विमाकुमारी महतो र १८ वर्षीय राधाकुमारी महतो घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घटनास्थलमै मृत्यु भएको बालिकाको घटना मुचुल्का गरी पोष्टमार्टमका लागि बर्दीबास अस्पताल पठाइएको छ । घाइते बालिकाहरुलाई गौशालास्थित निजी अस्पतालमा उपचार भईरहेको छ ।

मृतक बालिकाका बुवा विहारी महतोका अनुसार गाँउकै अन्य तीन जना साथीसँग आज बिहान ७ बजेतिर घाँस काट्न खेततर्फ जाँदै गर्दा करिनालाई सोही गाउँका तरकारी कृषकले खेतको सुरक्षाका लागि लगाएको तारजालीमा छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

गाउँ नजिकको तरकारी खेतको सुरक्षाका लागि जग्गाधनीले घेरवेर गरेको तारजालीमा करेन्ट प्रवाह गरेका थिए । करेन्ट प्रवाहबारे जानकारी नहुँदा सोही तारजालीमा छोइएपछि घटना वारदात भएको प्रहरीले जनाएको छ । करेन्ट प्रवाह गर्ने जग्गाधनीको खोजीकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्