दर्शनार्थीका लागि गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न मन्त्री यादवको निर्देशन


eShilalekh

४ कार्तिक २०८१, आईतवार १४:३१

सिमराः विश्वप्रसिद्ध पञ्चवर्षीय मेला लाग्ने बाराको गढीमाई मन्दिरमा आउने श्रद्धालु र दर्शनार्थीका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । पशु बलि दिने परम्पराका लागि प्रख्यात मन्दिरमा मङ्सिरको दोस्रो सातादेखि पञ्चवर्षीय मेला लाग्नेछ ।

मन्त्री यादवले शनिबार बिहान मन्दिरमा मेला व्यवस्थापनका लागि तयारीको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफल गर्नुभएको थियो । सोही क्रममा उनले गढीमाई मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

गत वर्षको पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको अभावका कारण श्रद्धालुहरूले समस्याको सामना गर्नुपरेको उनले बताए । गढीमाई मेला अवधिभर मन्त्रालयका कर्मचारीलाई पानीको शुद्धतामा मापन यन्त्र जडान गर्न र त्यसको सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

यसका साथै मन्त्री यादवले प्रदेश सरकारका प्रतिनिधिहरूलाई बरियारपुर क्षेत्रमा विभिन्न स्थानमा डीप बोरिङ जडान गर्नका लागि पनि निर्देशन दिएका छन् । मेला सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउँदै श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।

कार्यक्रममा पूर्व मन्त्री एवम् बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान), पूर्व सांसद प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादव, जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा, स्थानीय युवा नेता सञ्जय सर्राफ, मेला आयोजक समितिका पदाधिकारीहरू लगायत अन्य स्थानीय अगुवाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्