बारा प्रहरीद्वारा २७ किलो गाँजा बरामद, १५ लाखभन्दा बढीको अवैध सामान नियन्त्रण


eShilalekh

६ कार्तिक २०८१, मंगलवार १५:४५

सिमराः बारा प्रहरीले सुवर्ण गाउँपालिकाबाट २७ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार सुवर्ण गाउँपालिका–३ बतौरा नहर चोकमा चेकजाँच गर्दा उक्त गाँजा नियन्त्रणमा लिएको हो ।

कञ्चनपुरबाट बतौरा जाँदै गरेको अन टेस्ट मोटरसाइकलबाट २७ किलो गाँजा बरामद भएको हो । मोटरसाइकल चालक भने फरार भएका प्रहरीले जनाएको छ ।

घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यता, प्रहरीले सपोर्टिङ बिल नभएको १५ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले सोमबार राति करिब ९ बजे अमलेखगञ्ज चोकमा चेकजाँच गर्दा वीरगञ्जबाट चितवन जाँदै गरेको ना २ क ६७६ नम्बरको मिनी ट्रकमा लोड भएका बदाम दाना, जिरा, मेथी, नरिवललगायतका सामान बरामद गरेको हो । सामानको कुल मूल्य १५ लाख ४० हजार २८० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद सामानसहितको ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्