वीरगन्जका सोनारको हत्या गरेको आरोपमा बारा प्रहरीद्वारा एक भारतीय नागरिक पक्राउ
सिमराः बारा प्रहरीले वीरगन्जका वीरेन्द्र साह सोनारको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रक्सौलका बिजय गुप्ता रहेका छन् ।
बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार गुप्तालाई बुधबार बिहान वीरगन्जको इनर्वाबाट पक्राउ गरिएको हो । गुप्ता मृतक सोनारको घरमा भाडामा बस्ने गरेका थिए । मेला हेर्न भनेर असोज २६ गते सोनारसंगै गुप्ता पनि गएका थिए । तर सोनारको शव कात्तिक १ गते प्रसौनी गाउँपालिका १ स्थित गण्डक नहरमा भेटिदा गुप्ता भने फरार थिए ।
सोनारको शव भेटिएपछि प्रहरीले गुप्ताको खोजी गरिरहेको थियो । घटनाको अनुसन्धान गर्न प्रहरीले सोनारकी पत्नी मनिषादेवीलाई समेत नियन्त्रणमा लिएको थियो । मृतककी पत्नीको बयानका आधारमा प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।