राजश्व छलि गरेको आशंकामा पर्सा प्रहरीद्वारा करोडौं मूल्य बराबरको सामानसहित ट्रक नियन्त्रणमा


eShilalekh

७ कार्तिक २०८१, बुधबार १७:५३

सिमराः राजश्व छलीको आशंकामा पर्सा प्रहरीले वीरगन्जबाट एक करोड भन्दा बढी मूल्यको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जको घण्टाघर चोकबाट मंगलबार राति प्रहरीले ना३ख ५१८७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट कास्कीतर्फ जाँदै गरेको उक्त ट्रक घण्टाघर चोकमा रोकेर चेकजाँच गर्दा एक करोड १४ लाख मूल्य बराबरको औषधी र लत्ताकपडा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । भारतीका अनुसार बिल बिजक भन्दा बढी सामान ढुवानी भएको आशंकामा उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।

सामानसहित नियन्त्रणमा लिइएको ट्रक थप अनुसन्धानका लागि बुधबार बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रवक्ता भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्