सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार नगदसहित अख्तियारको नियन्त्रणमा
सिमराः बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो ७८ हजार नगदसहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीसंग घुस लिएको आरोपमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले साहलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।
कलैया उपमहानगरपालिका ४ मा सेवाग्राहीसंग रकम लिईरहेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिएका छन् । साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसंग उक्त रकम लिएको गौतमको भनाई छ ।
सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको थियो । रकम लिईरहेको अवस्थामा पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि हेटौडा लैजाने तयारी भईरहेको सूचना अधिकारी गौतमले जानकारी दिएका छन् ।