वीरगन्जका उद्योगी जाटिया पक्राउ


eShilalekh

११ कार्तिक २०८१, आईतवार १७:४७

सिमराः वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्धामा अदालतको फैसला कार्यान्यवन गराउन भन्दै प्रहरीले जाटियालाई आइतबार दिउँसो वीरगन्जस्थित युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।

एक ठेकेदार कम्पनीले दायर गरेको मुद्धामा पर्सा जिल्ला अदालतले जाटियालाई पाँच लाख बिगो भराउने गरी फैसला गरेको थियो । तर जाटियाले उक्त बिगोवापतको रकम ठेकेदार कम्पनीलाई नतिरेपछि प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको हो ।
वीरगन्ज महानगरपालिका २ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुर्ने कार्य गरेवापत जाटियाले भुक्तानी नदिएको भन्दै ठेकेदार कम्पनी सत्यम सप्लायर्सले अदालतमा रिट दायर गरेको थियो ।

पाँच लाख बिगो भराउन पहिलो पटक आदेश दिएको अदालतले उक्त आदेश पालना नभएपछि ६ महिना कैदमा राखेर बिगो भराउन दोस्रो पटक आदेश गरेको प्रहरीको भनाई छ । जाटियाको मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्सलगायतका उद्योगमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्