चिरान काठ लोड गरिएको गाडीसहित तीन जना पक्राउ, वन कार्यालयले अनुसन्धान गर्दै
सिमराः चिरान काठ लोड गरिएको पिकअप गाडीसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बारागढीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले करिब ४२ क्युफिट काठसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
डिभिजन वन अधिकृत राजीवकुमार झाले करैयामाई गाउँपालिका–७ पिपराका ४० वर्षीय हरिभजन चौधरी, ३५ वर्षीय रामप्रताप चौधरी र वडा नं. ५ तेतरियाका २७ वर्षीय दिपनारायण चौधरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । झाका अनुसार ना३च १९०१ नम्बरको पिकअपमा काठ राखेर लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको हो ।
गाडीलाई मोटरसाइकलमार्फत स्कटिङ गरिरहेका केही व्यक्ति भने फरार भएका छन् । सो क्रममा प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
करैयामाई गाउँपालिका ७ पिपरामा रहेको मिलबाट लोड गरी फर्निचर उद्योगका लागि लैजादै गरेको अवस्थामा काठ नियन्त्रणमा लिइएको झाले जानकारी दिए । झाका अनुसार सिसौको ७३ थान र सालको ३५ थान चिरान काठ गरी ४१.५८ क्युफिट काठ बरामद गरिएको हो ।
पक्राउ परेका तीन जना, पिकअप र बरामद काठलाई डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको र फरार व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।