गढीमाई मन्दिरमा २५ दिनमा करिब १० लाख भेटी संकलन
सिमराः बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिर परिसरमा राखिएको दानपेटिकाबाट सात लाख ३५ हजार रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर परिसरमा राखिएको चार वटा दानपेटिकाबाट २५ दिनमा सात लाख ३५ हजार तीन सय ४१ रुपैया दान संकलन भएको हो ।
यसैगरी रसिदमार्फत दुई लाख ३१ हजार ७२ रुपैयाँ नगद संकलन भएको छ । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले दानपेटिका र रसिदबाट कुल नौ लाख ६६ हजार चार सय १३ रुपैयाँ भेटी संकलन भएको जानकारी दिए ।
यादवका अनुसार नगद भेटीका साथै सात थान सुनको गहना र २६ थान चाँदीका गहना पनि दानपेटिकाबाट संकलन गरिएको छ । घटस्थापनाको दिनदेखि कात्तिक ११ गतेसम्ममा उक्त भेटी संकलन भएको हो ।
संकलित भेटी गढीमाई विकास कोषमा जम्मा हुनेछ । उक्त रकम मन्दिरको संरक्षण, व्यवस्थापनमा खर्च गरिनेछ ।