जीतपुरसिमरा १६ ले बनायो महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक, गरियो अनावरण
सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ नमुना चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अनावरण गरिएको छ । महाकवि देवकोटाको ११६औं जन्मजयन्तीको अवसर पारेर शालिक अनावरण गरिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को सहयोगमा निर्माण भएको उक्त शालिकको बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले अनावरण गरेकी हुन् । शालिक अनावरण भएसँगै नमुना चोकलाई देवकोटा चोकको रूपमा घोषणा गरिएको छ ।
वडाध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर बस्नेत, नेकपा एमाले बाराका सचिव सृजन बजगाईं, साहित्यकार हृदयनारायण चौधरी, वडा नम्बर १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जीतपुरसिमरा १६ का पूर्व वडाध्यक्ष केदारनाथ बजगाईं, शिक्षक एवम् साहित्यकार रामप्रसाद अधिकारी, राधेश्याम शिवाकोटी, अनिल मैनाली, राजु अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
स्थानीय नवराज रिमालको अध्यक्षतामा गठित उपभोक्ता समिति मार्फत महाकवि देवकोटाको शालिक निर्माण भएको हो । शालिक अनावरण कार्यक्रममा स्थानीय युवा साहित्यकार अविनाश सापकोटाद्वारा लिखित गजल संग्रह अग्राखको लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा साहित्यिक स्रष्टा र विद्यार्थीले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई वडा कार्यालयद्वारा सम्मान गरिएको थियो ।
वडाध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नवराज रिजालले गरेका थिए भने स्वागत मन्तव्य गंगाप्रसाद मैनालीले राखेका थिए ।