महाविरी झण्डा मेलाका नाममा सामाजिक सद्भाव बिगार्ने काम नगरौंः मेयर जलन्धर सिंह
सिमराः पचरौता नगरपालिकाका नगर प्रमुख (मेयर) जलन्धर सिंहले यसै महिनाको अन्तिम साता हुने महाविरी झण्डा मेलाको नाममा सामाजिक सद्भाव बिगार्ने र द्धन्द्ध निम्त्याउने काम नगर्न आग्रह गरेका छन् ।
नगरकै गौरवको रुपमा रहेको महाविरी झण्डा मेलालाई स्थानीय सरकारकै समन्वयमा आयोजना गर्ने तयारी भईरहेका बेला कुनै एक समूहले अर्को महाविरी मेला लगाउने सुनिएको भन्दै नगर प्रमुख सिंहले एकै ठाउँमा दुई वटा मेला लगाएर सद्भाव बिगार्ने काम नगर्न अनुरोध गरेका हुन् ।
‘अघिल्लो दुई वर्षमा दुई वटा मेला आयोजना गर्दा दोहोरो झडप भएर सामाजिक सद्भाव बिग्रिने र अशान्त वातावरणको स्थिती बनेको थियो’ नगर प्रमुख सिंहले भने ‘त्यसैले यस पटक दुई वटा मेला होईन्, एउटै मेलालाई भव्यरुपमा सबैको साझा बनाएर अघि बढ्नुपर्छ ।’
अघिल्ला वर्षमा भएका घटनाले निम्त्याएको परिस्थितीले कसैलाई पनि फाइदा नभएको भन्दै सिंहले पर्वलाई उल्लासपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति सहयोग गर्न आग्रह गरेका छन् । स्थानीय सरकारले आफै मेलाको तयारी गरिरहेको अवस्थामा अन्य समूहले अर्को मेलाको तयारी गर्न आवश्यकता नरहेको सिंहको भनाई छ ।
नगर भित्रको गौरव महाविरी झण्डा मेलालाई स्थानीय सरकारकै सक्रियतामा निरन्तरता दिने तयारी गरिरहँदा केही समूहले स्थानीय सरकारको तयारीविरुद्ध अर्को मेला लगाउने भन्दै समिति गठन गरेर सामाजिक सद्भाव बिगार्ने प्रयास गरेको नगर प्रमुख सिंहको भनाई छ ।
नगरबासीलाई विभाजित गर्ने र अशान्त वातावरणको अवस्था सिर्जना गर्ने काम कसैले पनि गर्न नहुने भन्दै नगर प्रमुख सिंहले वडा कार्यालयको नेतृत्वमा आयोजना हुने मेलालाई सफल बनाउन समेत आग्रह गरेका छन् । महाविरी झण्डा मेलालाई शान्त र मर्यादित ढंगले सफल बनाउन स्थानीय सरकारसंगै आम नगरबासीको भूमिका अहम रहने भन्दै नगर प्रमुख सिंहले कुनै समूहमा विभाजित भएर द्धन्द्ध ननिम्त्याउन अपिल गरेका छन् ।
नगरका प्रवक्ता लक्ष्मी यादवले स्थानीय सरकार संचालन ऐन २०७४ ले नगर क्षेत्रभित्र मेला, सांस्कृतिक कार्यक्रम आयोजना गर्नका निम्ति नगरपालिका वा वडा कार्यालयको अनुमति अनिवार्य गरेको हुँदा स्थानीय सरकारको अनुमति विना कुनै पनि मेलाको आयोजना नगर्न अनुरोध गरेका छन् । महाविरी झण्डा मेलालाई भव्यरुपमा सम्पन्न गर्न वडा कार्यालयको समन्वयमा गठित समितिलाई अनुमति दिईसकेकाले त्यसबाहेक उस्तै प्रकृतिको अर्को मेला आयोजना गर्न कसैलाई पनि अनुमति नदिईएको प्रवक्ता यादवको भनाई छ ।
प्रवक्ता यादवले कार्तिक २४ र २५ गते पचरौता वडा नं. ७ स्थित भिखना पोखरीको पश्चिम डिलमा महाविरी मेला आयोजना हुने बताए । उनले मेलालाई शान्त वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरिसकेको जानकारी दिए ।
यसैगरी पचरौता वडा नं. ७ का वडाध्यक्ष बनारसी विनले एक सूचना जारी गरेर असोज १८ गते धर्मदेवप्रसाद यावदको अध्यक्षतामा मेला आयोजना समिति गठन भएर तयारी भईरहेको अवस्थामा अर्को समूहले भिखना पोखरीको अर्को डिलमा मेला आयोजना गर्न लागेको सुनिएकाले त्यस्तो कार्य नगर्न अनुरोध गरेका छन् । वडाध्यक्ष विनले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको विरुद्धमा गएर त्यस्ता गतिविधि नगर्न समेत आग्रह गरे ।