जीतपुरसिमरामा विशेष नगरसभा बोलाउन माग


eShilalekh

२१ कार्तिक २०८१, बुधबार ०८:४१

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले विशेष नगरसभाको बैठक बोलाउन माग गरेका छन् । उपमहानगरपालिकाको नगरसभामा कायम सदस्यमध्ये २५ प्रतिशतभन्दा बढी सदस्यले संयुक्त हस्ताक्षरसहित नगर प्रमुख राजन पौडेलसँग विशेष नगरसभा बोलाउन माग गरेका हुन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को उपदफा ३ मा नगरसभाका एक तिहाई सदस्यले संयुक्त हस्ताक्षरसहित नगरसभाको विशेष बैठक माग गरेमा १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानलाई टेकेर ३७ जना सदस्यको हस्ताक्षरसहित जनप्रतिनिधिले विशेष बैठक बोलाउन माग गरेका हुन् ।

उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाको विशेष बैठक माग गरिएको पत्र नगर प्रमुख पौडेललाई बुझाएका छन् । उपप्रमुख अधिकारीले जीतपुरसिमरामा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्नका लागि पनि विशेष बैठक माग गरिएको बताए ।

उपमहानगरपालिकाको दसौं नगरसभाको विषयलाई लिएर उत्पन्न परिस्थितिलाई अन्त्य गर्दै नगरको समृद्धिका लागि विशेष बैठक माग गरिएको उपप्रमुख अधिकारीको भनाइ रहेको छ । उपप्रमुख अधिकारीले विशेष नगरसभापछि जीतपुरसिमरामा देखिएको द्वन्द अन्त्य हुनेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।

नगर प्रमुख पौडेलले विशेष नगरसभा माग गर्दै पत्र आएको र त्यसलाई आफूले अध्ययन गरिरहेको बताए । नगर प्रमुख पौडेलले उक्त पत्र विधि र कानुनसम्मत रहे नरहेको अध्ययन गरेपछि मात्रै निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्