आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै


eShilalekh

२२ कार्तिक २०८१, बिहीबार ०९:१६

सिमराः छठ पर्वको बिहीबार तेस्रो दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिएर उल्लासका साथ आज यो पर्व मनाईदै छ । आजको दिनलाइ सँझिया घाटे पनि भनिन्छ ।

आज छठका लागि सजाइएको जलाशयमा पुगेर व्रतालुले सूर्यको उपासना गर्ने र बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।  सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने धार्मिक विश्वास रहेको छ ।

चार दिनसम्म उल्लासका साथ मनाइने छठ पर्वका लागि पथलैयाको छठघाट, वीरगन्जको घडिअर्वा पोखरीसहित बारा र पर्साका छठघाटलाई बेहुली झैँ सिंगारिएको छ । आजका दिन जलाशयमा भिड् लाग्ने गर्दछ ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्दछन् ।

छठको पहिलो दिन अरबा-अरबाइन गरिन्छ जसलाई नहायखाय पनि भनिन्छ । यसैगरी दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा समापन गरिन्छ ।

छठको पहिलो दिन नहायखाय गरेका व्रतालुले दोस्रो दिन बुधबार खरना गरेका थिए । खरनाको दिन व्रतालुले दिनभरि उपवास बसेर साँझ दुध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायतको फलफूल, मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित परिवारका सदस्यले त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।

पर्वको तेस्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ । यसैगरी चौथो दिन पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सम्पन्न गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्