मृगौला पीडित मोहन परियारलाई सहयोग गर्न अपिल
सिमराः दुवै मृगौलामा समस्या देखिएका कारण जीतपुरसिमरा उपमहानगरपालिका १६ का ३५ वर्षीय मोहन परियार यतिबेला उपचाररत छन् । उनको काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
आर्थिक समस्याका कारण उपचार जटिल बन्दै गएपछि परिवार र स्थानीयले परियार बचाउ अभियान संचालन गरिरहेका छन् । मंसिर अन्तिम साता परियारको मृगौला प्रत्यारोपण गर्ने बताइएको छ ।
छोरा मोहनका लागि उनकी आमाले मृगौला दिन लागेकी छिन् । जसका लागि आमाको स्वास्थ्य जाँचको प्रक्रिया चलिरहेको छ । मृगौला प्रत्यारोपणका लागि १० लाख खर्च हुने भएपछि परियार परिवार आर्थिक समस्यामा परेका छन् ।
मृगौला प्रत्यारोपणपछि मोहनको स्वास्थ्य स्थिती ठिक हुने हुँदा स्थानीयले सहयोग संकलन अभियान संचालन गरिरहेका छन् । स्थानीय रवीन्द्रराज भण्डारीले मोहनको स्वास्थ्य रक्षाका लागि सकेको सहयोग गर्न अपिल गरेका छन् ।
मोहनको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिले उनकी पत्नी लक्ष्मी थिङ परियारको बैंक खातामा रकम जम्मा गर्न सक्ने भण्डारीले जानकारी दिए ।
परियारलाई साउदी अरबबाट ५२ हजार सहयोग
मोहन परियारको उपचारका लागि साउदी अरबमा कार्यरत नेपालीहरुले ५२ हजार दुई सय २९ रुपैया सहयोग गरेका छन् । साउदी अरबस्थित कानोज कम्पनी र वाङ्काङ् साउदी सेरामिक कम्पनीमा कार्यरत नेपालीले उक्त रकम संकलन गरी मोहनकी पत्नी लक्ष्मीको बैंक खातामा जम्मा गरिदिएका हुन् ।
जीतपुरसिमरा १६ घर भई हाल साउदीमा कार्यरत बिजय कुँवर र अर्जुन राईको पहलमा उक्त रकम संकलन गरिएको हो ।