यु–१९ एसिया कप खेल्ने नेपाली टोलीमा मधेश प्रदेशका चार खेलाडी


eShilalekh

२६ कार्तिक २०८१, सोमबार १५:५१

सिमराः युएईमा हुने यु–१९ एसिया कप क्रिकेटका लागि घोषणा भएको नेपाली टोलीमा मधेश प्रदेशका चार खेलाडी परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको १८ सदस्यीय टोलीमा मधेश प्रदेशका रञ्जित कुमार, मयन यादव, अभिषेक तिवारी र राजेश यादव रहेका छन् ।

रञ्जित पर्सा, मयन धनुषा, अभिषेक महोत्तरी र राजेश रौतहटका हुन् । हेमन्त धामीको कप्तानीमा घोषणा भएको टोलीमा उनिहरुसंगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, दयानन्द मण्डल, अपराजित पौडेल, र दिलसाद अली छन् ।

एसियन क्रिकेट काउन्सिलको आयोजनामा मंसिर १४ गतेदेखि मंसिर २३ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । जसका लागि नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् । कुल आठ टिमको सहभागिता रहने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् ।

नेपालले पहिलो खेल श्रीलंकासँग मंसिर १४ गते खेल्नेछ भने दोस्रो खेल मंसिर १६ गते बंगलादेश र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्