सिमराको केएसआर मूभिजमा झण्डै ९ हजार दर्शकले हेरे ‘पूर्णबहादुरको सारंगी’


eShilalekh

२७ कार्तिक २०८१, मंगलवार १५:४५

सिमराः बाराको सिमरामा रहेको केएसआर मूभिजमा करिब ९ हजार दर्शकले ‘पूर्णबहादुरको सांरगी’ चलचित्र हेरेका छन् । केएसआर मूभिजका अनुसार कार्तिक २६ गते सोमबारसम्म आठ हजार सात सय ८९ दर्शकले उक्त चलचित्र हेरेका हुन् ।

कार्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि प्रदर्शनमा आएको उक्त चलचित्रलाई दर्शकले औधी रुचाएका छन् । दर्शकको चाप बढेपछि केएसआरले एक दिनमा १० वटासम्म ‘शो’ देखाएको थियो ।

१२ गाउँ र छक्कापञ्जा ५ को दबदबा रहिरहेकै बेला प्रदर्शनमा आएको पूर्णबहादुरको सारंगीले अहिले सिमरामा दुवै चलचित्रलाई पछि पारेको छ । ‘वर्ड अफ माउथ’ का कारण सरोज पौडेल निर्देशित यस चलचित्र हेर्ने दर्शकको संख्यामा कमी आएको छैन ।

चाडपर्वका बेलामा मात्र नभई उक्त चलचित्र हेर्नका लागि दर्शकको चाप अहिले पनि उत्तिकै छ । चलचित्र हेर्न इच्छुक दर्शकले सहजै टिकट पाउन नसकेको अवस्था छ ।

केएसआरको पर्दाबाट बिराज भट्ट निर्देशित १२ गाउँ र दीपाश्री निरौला निर्देशित छक्कापञ्जा ५ उत्रिसकेका छन् । पूर्णबहादुरको सारंगी भने मंगलबार १३औं दिनपनि बलियो अकुपेन्सीका साथ चलिरहेको छ ।

केएसआरमा १२ गाउँको ५१ वटा शो चलेको थियो । जसमा चार हजार एक सय ३४ दर्शकले १२ गाउँ हेरेका थिए । यस्तै ४८ शो देखाइएको छक्कापञ्जा ५ लाई तीन हजार आठ सय ९७ दर्शकले हेरेको केएसआरका व्यवस्थापक शिव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्