निजगढमा खुल्यो तिलगंगा सामुदायिक आँखा अस्पताल


eShilalekh

२८ कार्तिक २०८१, बुधबार २१:०५

सिमराः बारा निजगढका प्रेमबहादुर तामाङ आफ्नै घरआगँनमा ‘निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल’ संचालनमा आउँदा दंग छन् । आँखाको उपचार गर्नकै लागि देशका सुविधासम्पन्न शहरमा मात्र नभई छिमेकी राष्ट्र भारतसम्म पुगेका उनलाई आँगनमै आएको सुविधाले खुशी तुल्याएको हो ।

आँखाको उपचार गर्न अब अन्त धाउनुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी भएका उनलाई निःशुल्करुपमा मोतियाबिन्दुको शल्यक्रिया गरिदिएर अस्पतालले अर्को खुशी थपिदिएको छ । निजगढ नगरपालिका ९ मा निर्माण भएको अस्पताल उद्घाटन कार्यक्रममा आईपुगेका प्रेमबहादुरले तिलगंगा अस्पतालका चिकित्सक आफ्नो लागि भगवान सरह नै रहेको बताए ।

मोतियाविन्दुको शल्यक्रियाकै लागि चितवनबाट निजगढ आईपुगेकी सन्तमाया श्रेष्ठको खुशी पनि प्रेमबहादुरको भन्दा कम छैन । निजगढमा रहेकी छोरीले अस्पताल खुलेको खबर गरेपछि मोतियाबिन्दुको शल्यक्रिया गराउन आएकी उनि उपचारपछि खुशी देखिन्छिन् ।

सेवा सुरुवातका अवसर पारेर अस्पतालले कार्तिक २४ गतेदेखि २७ गतेसम्म पाँच सय ५४ जनाको निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरेको थियो । शल्यक्रिया गराउन आएका व्यक्तिलाई खान, बस्न मात्र नभई यातायातको समेत सुविधा उपलब्ध गराइएको थियो । जसले गर्दा उपचारका लागि आएका सर्वसाधारण निकै खुशी देखिन्थे ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको समन्वय र अष्ट्रेलियाको द फ्रेड हलोज फाउन्डेशनको सहयोगमा अस्पताल निर्माण भएको हो । करिब २२ लाख अष्ट्रेलियन डलरको लागतमा निर्माण भएको अस्पतालको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा नेत्र विशेषज्ञ एवम् तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइत, द फ्रेड हलोज फाउन्डेशनका कार्यवाहक अध्यक्ष माइकल जन्सन, प्रमुख कार्यकारी अधिकृत इयान विशआर्ट, कलाकार हरिवंश आचार्य, प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, प्रदेशसभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नेपाल आँखा कार्यक्रमका कार्यकारणी अध्यक्ष सुहृद घिमिरे, प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङसहित नेपाल आँखा कार्यक्रम र द फ्रेड हलोज फाउन्डेशनका पदाधिकारी, सुरक्षाकर्मीका उच्च अधिकारी, जनप्रतिनिधिलगायत उपस्थित थिए ।

अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उच्च स्तरको उपचार सेवा प्रारम्भ भएकोमा खुशी व्यक्त गरे । अस्पताल निर्माणका लागि नेतृत्वदायी भूमिका खेलेका नेत्र विशेषज्ञ डा. रुइतले सिमान्तकृत समुदायलाई लक्षित गरेर अस्पताल निर्माण भएको बताए । डा. रुइतले आर्थिक रुपमा विपन्न रहेका विरामीलाई उनिहरुकै माझमा पुगेर सेवा दिन आफूहरु तयार रहेको समेत बताए । अस्पताल निर्माणका लागि सहयोग गर्ने दाता संस्थाका पदाधिकारी समेत आँखा अस्पताल निर्माणमा सहयोगी हुन पाँउदा खुशी देखिएका छन् ।

यता अस्पताल निर्माणका लागि अर्को महत्वपूर्ण भूमिका निजगढ नगरपालिकाका जनप्रतिनिधिले खेलेका छन् । निजगढ नगरपालिकाका वर्तमान र निवर्तमान जनप्रतिनिधिले अस्पताल निर्माणका लागि ११ कठ्ठा १० धुर जग्गा उलपब्ध गराए । जसले गर्दा अस्पताल निर्माण सम्भव भयो ।

निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले अस्पताल निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । यसैगरी निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनालले पनि खुशी व्यक्त गरे । पूर्व नगर प्रमुख खनाल र पूर्व उपप्रमुख लिलादेवी लामिछानेले २०७८ फाल्गुनमा अस्पतालको शिलान्याश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्