सर्वसुलभ साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न
पुष्पराज खतिवडा
मनहर्वाः जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वास्थित सर्वसुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बडहर्वास्थित खेलमैदानमा आयोजित सभाको बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ठाकुरले सहकारीका सदस्यलाई सहकारीको वास्तविक अर्थ बुझाउन सके यस क्षेत्र थप सुदृढ हुने बताए । उनले संस्थाका सबै सदस्यलाई सहकारीसम्बन्धी सचेतना तालिम दिनपनि आग्रह गरे ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, कलैया उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष हिरालाल चौधरी, सभाआयोजक सहकारी संस्थाका पूर्वअध्यक्ष ध्रुव सिग्देल, सल्लाहकार समितिका सदस्य विनिलप्रसाद अधिकारी, मौवादेवी साकोस बडहर्वाका अध्यक्ष राजुकुमार कार्की र स्थानीय बसन्त खतिवडालगायतले मन्तव्य राखेका थिए ।
संस्थाले सभाका अवसरमा दुई जना असल कारोबारकर्ता र एक जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्नुका साथै हालै सम्पन्न बारा बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पुनः निर्वाचित प्रमुख अतिथी ठाकुर र लेखा समिति सदस्यमा निर्वाचित राजुकुमार कार्कीलाई सम्मान गरेको थियो ।
सर्वसुलभले करिब ९ सय ९६ शेयर सदस्यका बीच ९ करोड ६४ लाखको कारोबार गर्दै आएको छ । सहकारीले २४ लाख तीन हजार नाफाबाट ६.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय सभाबाट गरेको ब्यवस्थापक कृष्ण बुढाथोकीले जानकारी दिए ।
संस्थाका अध्यक्ष विमलराज भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण ब्यवस्थापक बुढाथोकीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष जोखु राउत अहिरले स्वागत मन्तव्य राखेका थिए ।