गढीमाई मन्दिरको दान पेटिकाको भेटी दोश्रो पटक गणना, सात लाख भन्दा बढी भेटी संकलन
सिमराः बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिर परिसरमा राखिएको चार वटा दान पेटिकाको भेटी शनिबार दोश्रो पटक गणना गरिएको छ ।
उक्त दान पेटिकाबाट थप सात लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
मन्दिर परिसरमा राखिएको चार वटा दान पेटिकाको भेटी गणना गर्दा पाँच लाख २४ हजार एक सय ६५ रुपैयाँ नगद र रसिदबाट दुई लाख १४ हजार पाँच सय ७२ रुपैयाँ गरी कुल ७ लाख ३८ हजार सात सय ३७ रुपैयाँ भेटी संकलन भएको यादवले जानकारी दिए । यसैगरी दान पेटिकाबाट पाँच थान सुनका गहना र चार थान चाँदीको गहनासमेत संकलन भएको उनले बताए।
गढीमाई मन्दिर प्रांगणमा राखिएका चार वटा दान पेटीकाबाट कार्तिक १४ देखि कार्तिक ३० गतेसम्म १७ दिनको अवधिमा उक्त भेटी संकलन भएको छ । यसअघि असोज १७ देखि कार्तिक १३ गतेसम्म मन्दिर प्रांगणमा रखिएका चार वटा दान पेटिकाबाट कुल नौ लाख ६६ हजार चार सय १३ रुपैयाँ भेटी संकलन भएको थियो । साथै दान पेटीकाबाट सात थान सुनको गहना र २६ थान चाँदीका गहनापनि भेटीका रुपमा संकलन भएको थियो ।
दानपेटिकाबाट संकलित भेटी गढीमाई विकास समितिको कोषमा जम्मा गरिने अध्यक्ष यादवको भनाई छ ।