आज सार्वजनिक बिदा दिने सरकारको निर्णय


eShilalekh

३ मंसिर २०८१, सोमबार १२:०१

सिमराः पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले ढुङ्गानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजो सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्