घरमै पुगेर महिला क्रिकेटरलाई सम्मान गर्दै खेलकुद मन्त्री जयसवाल


eShilalekh

३ मंसिर २०८१, सोमबार १४:३४

सिमराः मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले यु–१९ राष्ट्रिय टोलीका महिला क्रिकेटरलाई घरमै पुगेर सम्मान गरेका छन् । नेपाललाई विश्वकपमा पुर्याएर इतिहास रच्दै घर फर्किएका प्रदेशभित्रका महिला क्रिकेटरलाई मन्त्री जयसवालले घरमै पुगेर सम्मान गरेका हुन् ।

कलैयाकी अलिशाकुमारी यादव, वीरगन्जकी साना प्रविणलाई घरमै पुगेर भेटेका मन्त्री जयसवालले सोमबार महोत्तरीकी पूजा महतोसंग भेट गर्ने भएका छन् । पूजा यु–१९ की कप्तान हुन् भने साना ओपनर ब्याटर र अलिशा विकेटकिपर हुन् ।

राष्ट्रिय टिमबाट खेल्दै इतिहास रचेर घर फर्किएका खेलाडी र उनिहरुका अभिभावकलाई हौसला प्रदान गर्नका निम्ति घरमै पुगेर भेट गरेको मन्त्री जयसवालले बताए । उनले खेलाडीलाई जनही एक लाख ५१ हजार रकम प्रोत्साहनवापत प्रदान गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । उक्त रकम तीन जना खेलाडीलाई एकैसाथ राखेर प्रदान गर्ने तयारी भईरहेको पनि मन्त्री जयसवालले जानकारी दिए ।

युएईमा हालै सम्पन्न महिला यु–१९ विश्वकप एशिया क्वालिफायरमा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै नेपालले आगामी जनवरीमा हुने विश्वकपमा छनौट हुन सफल भएको थियो । यो सफलता नेपाली महिला टोलीले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता हो ।

प्रतिक्रिया दिनुहोस्