पटेर्वासुगौलीमा बाघको आक्रमणमा १० वटा बाख्राको मृत्यु
सिमराः बाघको आक्रमणबाट पर्सामा १० वटा बाख्राको मारिएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका २ थर्घट्टीमा बाघले आक्रमण गर्दा १० वटा मारिएको हो ।
स्थानीय सत्यनारायण झाँगर र थमक महतो उराँउले पालेको बाख्राको समूहलाई बाघले आक्रमण गरेको हो । उनिहरुले घर नजिकैको जंगलमा बाख्रा चराउन लगेका थिए ।
जंगलमा चराउन लगेका बेला बाघले आक्रमण गर्दा १० वटा बाख्रा मारिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । सो क्रममा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।
डिभिजन वन कार्यालय तथा नेपाल प्रहरीको सहयोगमा बाघलाई अन्यत्र भगाइएको छ । बाघले पुनः आक्रमण गर्न सक्ने हुँदा सो क्षेत्रमा सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।