नेपाललाई विश्वकपमा पुर्याएर घर फर्किएका चेली, थामिएन आमाको आँशु
सिमराः नेपाल, १९ वर्ष मूनिको महिला विश्वकप क्रिकेटमा छनौट हुँदै गर्दा त्यसको महत्वपूर्ण हिस्सा थिईन् पर्सा वीरगन्जकी साना प्रविन । एसिया क्वालिफायरको अन्तिम खेलमा युएईविरुद्ध सानाले ४२ बलमा ३५ रन बनाइन् ।
त्यो रनको मद्यतमा नेपालले युएईविरुद्ध जित मात्रै दर्ता गरेन, सन् २०२५ को जनवरी १८ तारिकदेखि सुरु हुने १९ वर्षमूनिको महिला विश्वकपमा स्थान सुरक्षित गर्दै इतिहास रच्न सफल भयो । नेपाली महिला क्रिकेट टोलीले हासिल गरेको यो सबैभन्दा ठूलो उपलब्धी भएकाले पनि त्यो जितलाई महत्वका साथ हेरिएको छ ।
विश्वकप छनौटमा सफलता हासिल गर्दै नेपाल फर्किएका महिला क्रिकेटर केही दिनका लागि घर आईपुगेका छन् । घर फर्किने क्रममा उनिहरुलाई गरिएको स्वागतले पनि त्यो जित कति महत्वपूर्ण छ भन्ने दर्शाउछ ।
सिमरा विमानस्थलमा छोरी सानाको स्वागतका लागि आईपुगेकी तायरा खातुन निकै भावुक थिईन् । झण्डै दुई महिनापछि छोरीलाई भेट्दै गरेकी तायराले आँशु थाम्न सकिनन् । आफ्नो सन्तानले देशकै प्रतिनिधित्व गर्दै खेलेको खेल र त्यही खेलमा देशले प्राप्त गरेको सफलता । तायराको आँशु स्वभाविक थियो । उनि भन्छिन् यो खुशीको आँशु हो ।
साना सानैदेखि क्रिकेटमा रुची राख्थिन् । उनलाई दाइ सलमानले क्रिकेटका लागि डोहोर्याएर लगेका थिए । तर आमा तायरालाई एक्ली छोरी सानाले क्रिकेट खेलेको फिटिक्कै मन परेको थिएन । सलमानले आमा तायरालाई निकै सम्झाए । छोराछोरीको चाहना विपरित जान नसकेकी तायराले पछि सानालाई क्रिकेट खेल्न सहयोग गरिन् ।
छोरीलाई क्रिकेट खेल्न पठाउँन तायराका लागि सहज थिएन । सानाले क्रिकेट ब्याट बोकेर हिडेको देख्दा समाजको विभिन्न टिकाटिप्पणीको सामना उनले गर्नुपरेको थियो । तरपनि तायराले सानालाई क्रिकेटबाट टाढा लगिनन् । सानालाई निरन्तर सहयोग गरेकी तायरा अहिले छोरीको सफलताले निकै खुशी छिन् । उनि छोरीले अझै सफलता हात पारेको र देशलाई पनि सफलता दिएको हेर्न चाहन्छिन् ।
यता सानाका बुवा पनि छोरीको सफलतामा औधी खुशी छन् । उनले आफू मात्र नभई यतिबेला देशनै खुशी रहेको प्रतिक्रिया दिए । एसिया छनौट अन्तर्गतको ६ खेलमा एक सय ४३ रन बनाएकी ओपनर सानाले इतिहास रच्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले अब विश्वकप र एसिया कपको तयारीमा जुट्ने बताईन् ।
सानालाई ब्याट समाउन सिकाएका प्रशिक्षक रमिज राजा अंसारी यो भन्दा धेरै ठूलो सफलता प्राप्त गरेको र्हेन चाहन्छन् ।
यता विकेटकिपर अलिशाकुमारी यादवको खुशी पनि सानाको भन्दा कम छैन् । स्टम्पको पछाडी बसेर खेलाडीलाई निरन्तर हौसला प्रदान गर्दै आएकी अलिशाले विश्वकप यात्रा तय गर्दैगर्दाको त्यो क्षणलाई व्यक्त गर्ने नसक्ने बताउँछिन् ।
अभिभावकसंगै बाराको पचरौताबाट कलैयामा बसोबास गर्न थालेकी अलिशाले परिवारकै सहयोगमा आफ्नो क्रिकेट यात्रा सुरु भएको बताइन् । क्रिकेट खेल्न गएको दिन उनको हातमा विकेटकिपरले लगाउने ग्लभ्स दिइएको थियो । त्यो दिन लगाएको ग्लभ्सले अलिशालाई यो स्थानसम्म डोहोर्यायो ।
अलिशाको क्रिकेट यात्रामा महत्वपूर्ण सहयोग गरेका सुभास जैसवाल हाल मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष छन् । अलिशाको सुरुवाती दिन सम्झदै जैसवालले यो सफलताले आफूलाई निकै खुशी तुल्याएको बताउछन् । अलिशाको सफलतामा बुवा राजेश प्रसाद पनि उत्तिकै खुशी छन् ।
हेर्नुस् भिडियोः