गढीमाई मेलामा प्रशासनको अनुमति बिना ड्रोन क्यामरा उडाउन निषेध


eShilalekh

७ मंसिर २०८१, शुक्रबार १६:५१

सिमराः बाराको महागढीमाईस्थित गढीमाई मेलामा ड्रोन क्यामरा उडाउन स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै मेलाको समयमा ड्रोन क्यामरा उडाउन रोक लगाएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्धारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालयको अनुमति बिना ड्रोन क्यामरा उडान निषेध गरिएको उल्लेख छ । कार्यालयको अनुमति बिना ड्रोन क्यामरा उडाएको पाइएमा उक्त ड्रोन क्यामरा जफत गरी ड्रोन धनी र उडाउने व्यक्तिलाई कारवाही गरिने बताइएको छ ।

सूचनामा भनिएको छ ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामरा उडान गर्ने सक्ने प्रावधान रहेको छ । मंसिर १ गतेदेखी मसान्तसम्म लाग्ने पञ्चवर्षीय गढीमाई मेलालाई लक्षित गरी कुनै पनि व्यक्ति, संघसंस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामरा उडान गर्न पाइने छैन । सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामरा उडान गरेको देखिएमा वा पाईएमा उक्त ड्रोन क्यामरा जफत गरी सम्बन्धित ड्रोन क्यामेराका धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्