गाँजा नियन्त्रणमा लिने क्रममा सिम्रौनगढमा दोहोरो फायरिङ, एकको मृत्यु


eShilalekh

१२ फाल्गुन २०७८, बिहीबार १०:३७

सिमरा: भारततर्फ लैजान लागिएको अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागी बाराको सिम्रौनगढमा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाईते भएका छन् ।

प्रहरी टोली र गाँजा कारोवारीबीच बुधवार राती सिम्रौनगढको महुवानीमा उक्त घटना भएको हो । सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले कारोवारीलाई नियन्त्रणमा लिन खोज्दा दोहोरो फायरिङ चलेको थियो ।

फायरिङका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन् । गोली लागेर घाईते भएका उनको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् । प्रहरीले भारत मोतिहारीका ४० वर्षिय हिरदेश गिरीलाई पक्राउ गरेको छ ।

थापाका अनुसार ६/७ जनाको समुहमा रहेका गाँजा तस्करले बोरामा हालेर गाँजा भारततर्फ लैजादै गरेका थिए । पूर्वसूचना पाएको प्रहरीले तस्करको समुहलाई नियन्त्रणमा लिन ‘एम्बुस’ थापेर तयारी अवस्थामा थियो । पाँच वटा बोरामा गाँजा लिएर तस्करको टोली महुवानी आईपुगेपछि प्रहरीले उनिहरुलाई पक्राउ गर्न खोज्यो ।

प्रहरीले पक्राउ गर्न खोजेपछि तस्कर समुह गाँजा छोडेर गोली चलाउदै भाग्न थाले । जवाफी फायरिङ गर्ने क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिन सफल भयो । नियन्त्रणमा लिइएको मध्ये एक जनाको मृत्यु भएको हो ।

मृतकको शव कलैयास्थित अस्पतालमा राखिएको छ । उनको पहिचान नखुलेको र घटनामा पक्राउ परेका अर्का व्यक्तिको वयानका आधारमा थप अनुसन्धान गरिने प्रवक्ता थापाले बताए । सो क्रममा प्रहरीले ७५ केजी गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्