क्रियटिभ जीतपुरसिमरा भेट्रान कप सुरु, पहिलो खेलमा सिमरा भेट्रान पराजित
सिमराः क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । सिमरा रंगशालामा बिहान ८ बजे भएको पहिलो खेलमा युनाईटेड भेट्रान क्लब हेटौंडा बिजयी भएको छ ।
हेटौंडाले सिमरा भेट्रानलाई २–१ ले पराजित गरेको हो । यसैगरी बिहान १० बजेपछि भएको दोस्रो खेलमा डुमरवाना भेट्रानले सर्लाही भेट्रानलाई टाईब्रेकरमा २–१ ले पराजित गरेको छ ।
निर्धारित समयमा दुवै टिमले गालरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा डुमरवानाका लागि राजन उप्रेती र सुवास कार्कीले गोल गरे ।
सर्लाहीका लागि भने निलबहादुर राईको प्रहारले जाली चुम्दा प्रविण राईको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । यसैगरी चन्द्रबहादुर स्याङ्तानको प्रहार डुमरवानाका गोलरक्षक प्रकाश भट्टले बचाउ गरेका थिए ।
जितसंगै हेटौडा र डुमरवाना प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत दिउँसो १ बजे बकुलिया भेट्रान र निजगढ भेट्रानबीच खेल हुनेछ । चौथो खेलमा दिउँसो २ बजे टाउन भेट्रान क्लब बिहार र नागस्वोती भेट्रान हेटौंडाबीच खेल हुनेछ ।
चौथो खेल सुरु हुनअघि प्रतियोगिताको औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्नेछन् ।
कलैयाको क्रियटिभ वल्र्ड डिजिटलको मुख्य प्रायोजन र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा नव जनजागृति भेट्रान क्लबले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । मंसिर १५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सिमरा भेट्रान, पथलैया भेट्रान, डुमरवाना भेट्रान, बकुलिया भेट्रान, सरस्वती नगर भेट्रान क्लब काठमाडौं, वीरगन्ज युथ भेट्रान, निजगढ भेट्रान, टाउन भेट्रान बिहार, युनाईटेड भेट्रान हेटौंडा, सर्लाही भेट्रान, प्ले टुगेदर भेट्रान झापा, वीरगन्ज सिटी भेट्रान, नागस्वोती भेट्रान हेटौंडा, खैर्वा भेट्रान, वीरगन्ज युनाईटेड भेट्रान र आयोजक नव जनजागृति भेट्रानले सहभागिता जनाउनेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडा कार्यालय, जगदम्बा स्टील्स, हुलास स्टील, क्लासिक मेट्रेस, तराई यातायात व्यवसायी संघ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, युआर अटोमेटिक लण्ड्री, द पावर जिम सिमरा, न्यु स्टार अस्पताल सिमरा, प्राइम पार्टी प्यालेस, चौधरी टेन्ट हाउस, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रतियोगिता आयोजना गर्न सहयोग गरेको संयोजक राम पाठकले जानकारी दिए ।