क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
सिमराः बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य आरोपी भनिएका सुरेन्द्रप्रसाद कुशवाहा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले कुशवाहालाई बुधबार बिराटनगरबाट पक्राउ गरेको हो ।
आदर्श कोतवाल गाउँपालिका २ घर भएका ४१ वर्षीय कुशवाहा घटनालगत्तै फरार भएका थिए । कुशवाहालाई प्रहरीले मुख्य अभियुक्त बनाएर खोजी गरिरहेको थियो । पक्राउ परेका कुशवाहालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गत जेठ ३२ गते आदर्श कोतवाल गाउँपालिका ३ बतरामा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या भएको थियो । घरबाट मोटरसाइकल चलाएर कलैयातर्फ आउँदै गरेका कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट घाइते कुशवाहाले प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई फोन गरेर आफूमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्ति सुरेन्द्र भएको बताएका थिए । घाइते कुशवाहालाई तत्कालै उपचारका लागि बयोधा मेडिसिटी अस्पताल ल्याइएपनि उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि अनुसन्धानमा जुटेको बारा प्रहरीले स्थानीय चन्द्रमणीप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुशवाहा, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवणकुमार साह, हरिन्दर महरा चमार, ब्रम्हदेव राम, मोतिलाल चौधरी, राधेसकुमार पटेल र विनोद राउत कुर्मीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये राधेसकुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा रिहा भईसकेका छन् भने अन्य आठ जना कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्धामा पूर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीले कुशवाहालाई मुख्य अभियुक्त बनाएर मुद्धा दायर गरेको थियो ।
प्रहरी उपरीक्षक खड्काले घटनापछि कुशवाहा भारतको विभिन्न ठाँउमा लुकेर बसेको र बिराटनगर आएको सूचना पाएपछि पक्राउ गरिएको बताए । खड्काका अनुसार कुशवाहा नेपाली सेनाका भगौडा हुन् ।
प्रहरीले घटनामा प्रयोग भएको दुई थान पेस्तोल, सात राउण्ड गोली, मोटरसाइकलसहित ल्यापटप, मोबाईल यसअघिनै बरामद गरेको थियो । प्रहरीले आरोपी कुशवाहालाई पक्राउ गरेपनि हत्याको कारण भने खुलाएको छैन ।