उपराष्ट्रपति यादवले गरे गढीमाईमा पूजा
सिमराः उपराष्ट्रपति रामसहाय यादवले गढीमाई मेलाको अवसर पारेर सोमबार गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् । मेला आयोजक समितिको निमन्त्रणमा गृहजिल्ला बारा आएका यादवले गढीमाईको दर्शन गर्दै पूजापाठ गरेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरबाट गढीमाई आएका उपराष्ट्रपति यादव पूजापछि काठमाडौं फर्किएका छन् । उपराष्ट्रपतिले पूजा गरेसंगै गढीमाई मन्दिरको मेला औपचारिक रुपमा सुरुवात भएको समितिले जनाएको छ ।
मेला मंसिर १ गतेदेखिनै सुरु भएपनि १७ गते विशेष पूजा गरिएको छ । उक्त पूजापछि गढीमाईको मेला विधिवतरुपमा सुरु हुने मन्दिरका पूजारीले जनाएका छन् ।
गढीमाईमा यतिबेला दर्शनार्थीको संख्या बढ्दो छ । नेपाल, भारतसहित विभिन्न स्थानबाट दर्शनार्थीहरु गढीमाईमा पूजाका लागि आईरहेका छन् । विशेष पुजाका समयमा दर्शनार्थीको उपस्थिती लाखौंको संख्यामा हुने मेला समितिको भनाई छ ।