गढीमाई मेलाका लागि महागढीमाईपछि जीतपुरसिमराले दियो सार्वजनिक बिदा
सिमराः विश्वप्रसिद्ध गढीमाई मेलाका लागि जीतपुरसिमरा उपमहानगरपालिका चार दिन सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सोमबार सूचना जारी गर्दै मंसिर २१ गतेदेखि २४ गतेसम्म सार्वजनिक बिदा दिईएको जानकारी गराएकी छिन् ।
काफ्लेद्धारा जारी सूचनामा अत्यावश्यक बाहेक उपमहानगरपालिका र मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, वैंक तथा वित्तिय संस्थामा विदा दिइएको उल्लेख छ । यसअघि महागढीमाई नगरपालिकाले सूचना जारी गर्दै मंसिर २१ गतेदेखि २४ गतेसम्म बिदा दिएको थियो ।
गढीमाई मेलालाई सफल र व्यवस्थित बनाउन जिल्लाका १६ वटै स्थानीय तहमा चार दिन सार्वजनिक बिदा दिने बताइएको छ । जिल्लाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको उपस्थितीमा मंसिर २ गते बसेको बैठकले चार दिन सबै पालिकामा बिदा दिने निर्णय गरेका थिए ।
मेला अवलोकन र पूजाका लागि आउने दर्शनार्थीका लागि स्थानीय तहले आफ्नो पालिका क्षेत्रभित्र स्वागतद्धार समेत बनाएका छन् ।