गृहमन्त्री रमेश लेखकले गरे गढीमाईको दर्शन


eShilalekh

१९ मंसिर २०८१, बुधबार २०:४९

सिमराः नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बुधबार बाराको महागढीमाईस्थित गढीमाई मेलाको अवलोकन गर्दै मन्दिरमा पूजापाठ गरेका छन् । काठमाडौंबाट हवाई मार्गबाट सिमरा आएका गृहमन्त्री लेखकले बरियारपुर पुगेर मन्दिरको दर्शन गरेका हुन् ।

मन्दिरको दर्शनपछि आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले लेखकले गढीमाई मन्दिरले नेपाललाई विश्वसामु चिनाएको बताए । गढीमाई मेलामा सहभागी हुन देशविदेशबाट दर्शनार्थी आईरहेको बताउँदै लेखकले धार्मिक पर्यटनमा समेत टेवा पुगिरहेको बताए ।

गृहमन्त्री लेखकले लाखौं दर्शनार्थी उपस्थित हुने मेलाको सुरक्षा अवस्थाको विषयमा समेत जानकारी लिएका थिए । मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मिलाउन आफूले निर्देशन समेत दिईसकेको मन्त्री लेखकको भनाई थियो ।
गृहमन्त्री लेखकलाई महागढीमाई नगरपालिकाका नगर प्रमुख एवम् मेला आयोजक समितिका संयोजक उपेन्द्रप्रसाद यादवसहित नेपाली कांग्रेसका नेताकार्यकर्ताले स्वागत गरेका थिए ।

मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा देशका उच्चपदस्थ व्यक्तिहरु आउने क्रम जारी छ । यसअघि उपराष्ट्रपति रामसहाय यादवले मन्दिरको दर्शन गर्दै पूजापाठ गरेका थिए ।

यसैगरी नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, शहरी विकास मन्त्री प्रकाशमान सिंह, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मधेस प्रदेशका गृह तथा कानुन मन्त्री राजकुमार लेखीले मन्दिरको दर्शन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्