रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी, चितवनबाटै वीरगन्ज ल्याईने


eShilalekh

१९ मंसिर २०८१, बुधबार २१:४०

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगन्जको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो ।

अदालतले लामिछाने, जीबी राई, छविलाल जोशीसहित १४ जनालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको हो । जीबी सानोपाइला सहकारीका अध्यक्ष हुन् ।

वीरगन्ज महानगरपालिका ६ आदर्शनगरस्थित सानोपाइला वचत तथा ऋृण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आठ करोड ५८ लाख रुपैयाँ प्रवाह भएको छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले ग्लोबल आईएमई बैंकको गोर्खा मिडियाको खातामा सानोपाइला सहकारीको रकम सात पटक सारिएको देखाएको छ ।

उक्त सहकारीका एक सय ७९ वचतकर्ताले सहकारीका संचालकविरुद्ध करिब एक वर्षअघि उजुरी दिएका थिए । उक्त उजुरी र संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा पर्सा प्रहरीले अनुसन्धान थालेको हो ।

लामिछाने अहिले सहकारी ठगी प्रकरणमै बयानका लागि चितवनमा छन् । उनलाई चितवनबाट वीरगन्ज ल्याउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्