जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो
सिमराः नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । किर्तिपुरस्थित टियु मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको हो ।
जितसंगै जनकपुर अंक तालिकको शिर्ष स्थानमा उक्लिएको छ । तीन खेल खेलेको जनकपुरले तीन वटै खेल जित्दै ६ अंक बटुलेको छ । दुई खेल खेलेको चितवन राईनोज चार अंकसहित दोस्रो स्थानमा छ ।
जनकपुरले पहिलो खेलमा विराटनगर किङ्स र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा टस जित्दै बलिङ रोजेको जनकपुरले पोखरालाई १३८ रनमा रोकेको थियो ।
जनकपुरका लागि ललित राजबंशीले तीन विकेट लिए । निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनमा पोखरा समेटिएपछि जनकपुरले १३९ रनको लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १७.१ ओभरमा जित निकालेको थियो । जनकपुरका लागि अलराउण्डर जेम्स निशमले पाँच छक्का प्रहार गर्दै ४० रन बनाए । उनले बलिङमा पनि पोखराका दुई खेलाडीलाई पेभेलियन फर्काएका थिए । यसैगरी लहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ रन जोडे ।
कप्तान अनिलकुमार साह भने एक रनको स्थितीमा आउट भए । १० रनको स्थितीमा पहिलो विकेट गुमाएको जनकपुरलाई मार्कि प्लेयर आशिफ र मिलान्थाले सम्हालेका थिए ।