रवि लामिछानेलाई आज पनि पर्सा प्रहरी कै हिरासतमा राखिने
सिमराः जिल्ला सरकारी वकिलको कार्यालय पर्साले रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान नौ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए । लामिछानेसँग अब लिखित बयान हुने जानकारी उनले दिए ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको हो । लामिछानेसहित १४ जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।